छोरी बलात्कारमा १८ वर्ष जेल
- Giriraj Bhattarai
बनेपा-छोरी बलात्कार गरेर सामाजिक रूपमा कलंकित एक बाबुलाई अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ। आफ्नै छोरीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको अभियोगमा पनौती नगरपालिका–२, सुब्बागाउँका ४७ वर्षीय प्रकाशबहादुर कार्कीलाई जिल्ला अदालत, काभ्रेले मंगलबार १८ वर्ष कैद र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुलुकी ऐनअनुसार जबर्जस्ती करणीमा ८ वर्ष र हाडनाता करणीमा १० वर्ष गरी १८ वर्ष कैद तथा क्षतिपूर्तिबापत २ लाख भराउने फैसला गरेको स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए।
पीडित युवतीले आफू कक्षा ९ मा अध्ययनरत रहँदादेखि नै बुबा र हजुरबुबाबाट निरन्तर बलात्कृत हुँदै आएको भन्दै २०७१ असोज २ गते जिल्ला अदालतमा किटानी जाहेरी दिएकी थिइन्। लगत्तै बाबु पक्राउ परेका थिए भने हजुरबुबा इन्द्रबहादुर कार्कीले विषसेवन गरी आत्महत्या गरेका थिए।
बुबा र हजुरबुबाको कुकृत्यबारे घरपरिवारमा बताउँदासमेत सुनुवाइ नभएपछि ती युवतीले साउन ३० गते आत्महत्या प्रयास गरेकी थिइन्। विषसेवन गरी गम्भीर अवस्थामा भेटिएकी युवतीलाई प्रहरीले धुलिखेलको गौखुरेश्वर जंगलबाट उद्धार गरी अस्पताल पुर्याएको थियो।
धुलिखेल अस्पतालमा ‘रक्षा नेपाल' नामक गैरसरकारी संस्थाको सहयोगमा उनको उपचार भएको थियो। डिस्चार्जलगत्तै पीडित युवती बाबुविरुद्ध अदालत गुहार्न पुगेकी थिइन्।
पीडित युवतीका अनुसार उनी १० वर्षको उमेरदेखि नै हजुरबुबाबाट बलात्कृत हुँदै आएकी थिइन्। सानो उमेरका कारण डर–त्रासले कसैलाई भन्न सकेकी थिइनन्। वैदेशिक रोजगार सिलसिलामा विदेश रहेका बाबु फर्किएपछि घटनाबारे परिवारमा छलफल भएको थियो।
‘आमा र मामा–माइजूलाई समेत बताउँदा पनि उहाँहरूले इज्जत जान्छ, बिहे हुन गाह्रो हुन्छ भनेर चुप लाग्न दबाब दिनुभयो,' पीडित युवतीले प्रहरीमा जाहेरी दिने क्रममा भनेकी थिइन्, ‘त्यतिखेर मेरालागि कोही आफ्ना भएनन्।'
पीडित युवतीका अनुसार उनले हजुरबुबा र बाबुबाट लगातार बलात्कृत भएको बारे बताउँदा आमाबाट पनि सहयोग पाइनन्। ‘इज्जतका नाममा छोरीलाई नै चुप लाग्न दबाब दिने आमा पनि दोषी हुन्,' सुब्बागाउँका स्थानीय भन्छन्, ‘छोरीको सबैभन्दा नजिकको साथी आमा नै हो। आमाले नै छोरीलाई साथ नदिँदाको परिणाम हो यो।'
तनाबबीच पनि ती युवतीले गाउँकै बोर्डिङ स्कुलबाट २०६७ सालमा विशिष्ट श्रेणीमा एसएलसी पास गरिन्। बाबुको अत्याचार र घरपरिवारले एक्ल्याएकी उनले विज्ञान विषय लिएर पढ्न थालिन् तर ११ कक्षा पूरा गर्न सकिनन्।
पछिल्लोपटक बाबुबाट बलात्कार भएकै दिन ती युवतीले आत्महत्या प्रयास गरेकी थिइन्। अस्पतालमा रहँदा पनि परिवारका कसैले वास्ता गरेनन्। हजुरबुबा र बाबुदेखि सबै सदस्य र मावलीका सदस्यले समेत इज्जतको डरले ती युवती ‘नबाँचे नै जाती' भनेका थिए। हिम्मतली युवतीले अस्पतालबाट निस्केकै भोलिपल्ट बाबुविरुद्ध जाहेरी दिएकी थिइन्।
उनले लेखेको सुसाइड नोट, लिखित जाहेरी र बयानका आधारमा प्रहरीले अनुसन्धान थाल्यो। ‘पैसा भएपछि सबैथोक किन्न सक्ने धम्की दिँदै मलाई झम्टन्थ्यो। ममाथि पटक–पटक बलात्कार गर्यो, त्यसलाई बाबु भन्न पनि घीन लागेर आउँछ,' युवतीले बयानमा भनेकी छन्।
केही वर्ष नेपाली सेनामा जागिर खाएका कार्कीले २०६३ मा मकाउबाट फर्केपछि छोरीमाथि बलात्कार गरेको युवतीको बयानमा छ। विभिन्न डरत्रास देखाएर छोरीलाई गर्भनिरोधक चक्की खुवाउँदै बलात्कार गर्थे उनी।
‘घरको कुरा बाहिर भने दुनियाँले तँलाई नै बढी थुक्छ' भनेर धम्क्याउने बाबु, मेरो कुरै सुन्न नचाहने आमा,' युवतीले बयानमा भनेकी थिइन्, ‘बाबुको श्रीमती भएर बाँच्नुभन्दा मर्नु बेस भनेर धुलिखेलको वनमा गएर मेटासिड खाएकी थिएँ।'
बाबु पक्राउ परेपछि आफू पनि पक्राउ पर्ने डरले हजुरबा इन्द्रबहादुरले गत भदौ १० गते विषसेवन गरी आत्महत्या गरेका थिए।
पीडितका अनुसार कार्कीले केटा खोजेर विवाह गरिदिने प्रयाससमेत गरेका थिए। उनलाई पनि चाहेको सम्पत्ति दिएर बिहा गरिदिने भन्दै फकाउँथे। अपराधबाट जोगिन युवतीको सम्बन्ध पनौतीकै एक केटासँग भएको र उनको मानसिक स्थितिसमेत ठीक नभएको भन्दै बाबु प्रकाशले दुष्प्रचार गरेका थिए।
नागरिक पत्रिकाबाट
© FRANCE NEPAL info
Other articles by reporter Giriraj Bhattarai